प्रेस विज्ञप्ति १७ असोज, २०८०
विश्व सामाजिक मञ्च नेपाल २०२४
विश्व सामाजिक मञ्च २०२४ र विश्व सामाजिक मञ्च २०२४ नेपाल आयोजक समितिका तर्फबाट ३ देखि ७ फाल्गुण २०८०मा विश्व सामाजिक मञ्चको १६औं संस्करण काठमाण्डौ, नेपाल हुन् गैरहेको जानकारी यहाँहरु समक्ष राख्न पाउँदा हामी निकै हर्षित छौ । विश्व सामाजिक मञ्च नवउदारवादका विकल्पको सिर्जना एवं लागु गर्नेतर्फ उन्मुख विचार, अनुभव र रणनीतिको स्वतन्त्र तथा र समानान्तरस्तरमा आदानप्रदान गर्न बनाईएको एक खुला मञ्च हो ।
ब्राजिलको पोर्तो एलेग्रेमा सन् २००१मा यसको स्थापना भएदेखि नै विश्व सामाजिक मञ्च अर्को विश्व सम्भव छ भन्ने संकल्पका साथ ‘भूई तहबाट' हुने वर्चश्वशाली विश्वव्यापीकरणका विरुद्ध अहोरात्र खटिने अन्तर्राष्ट्रिय कार्यकर्तालाई एकीकृत गर्ने थलो बन्दै आएको छ । विश्व सामाजिक मञ्च सामाजिक सेवालाई निजीकरण गर्ने आर्थिक नीति र नीतिअनुरुप भएको निजीकरणपश्चात हुने आर्थिक वृद्धि, सैन्यवाद र साम्राज्यवादको विरोध गर्छ । यसले वैकल्पिक विचारमा छलफल-बहस गर्न, प्रस्ताव तयार गर्न, जीवन्त अनुभव साटासाट गर्न र मानवताले व्यहोरिरहेको मौजुदा संकटका वैकल्पिक समाधान खोज्न एक ‘खुला मञ्च’ उपलब्ध गराउछ । विश्व सामाजिक मञ्चले स्पष्ट ढंगले नवउदारवादी वैश्विक पूँजीवादको विरोध गर्दै वैश्विक सामाजिक न्याय एवं वातावरणीय दिगोपनाका पहलकदमी लिन्छ । यो मञ्च विश्व सामाजिक मञ्चको घोषणापत्र तथा अन्तर्राष्ट्रिय परिषद्, एशिया प्रशान्त सामाजिक मञ्च सहजीकरण समिति (APSF-FC) र नेपाल आयोजक समितिको नेतृत्वको मर्म अनुसार चल्छ । मञ्चको उद्घाटन समारोह ३ फाल्गुण २०८०का दिन काठमाण्डौको खुलामञ्चमा हुनेछ । फाल्गुण ४ देखि ६ गतेसम्म विषयगत सम्मेलन र समानान्तर सत्र आयोजना गरिनेछन ।
काठमाण्डौमै ५ फाल्गुणका दिन अन्तरमहादेशीय युवा मञ्चको पनि आयोजना गरिनेछ । त्यसैगरी संसदीय मञ्च पनि आयोजना गरिनेछ । हरेक दिनको कार्यक्रम विविध विषयगत प्यानल छलफलबाट सुरु हुनेछ त्यसपछि स्व-आयोजित गतिविधि/सत्र/सम्मेलन हुनेछन (हरेक दिन करिब तीन सय गतिविधि/सत्र हुने अपेक्षा गरिएको छ) र दिनको अन्त्यमा खुला स्थानमा अनौपचारिक बैठक एवं साँस्कृतिक कार्यक्रम हुनेछन । विश्व सामाजिक मञ्च २०२४ समारोह भरिमा नौ सय देखि एक हजार स्व-आयोजित गतिविधि एवं सम्मेलन हुनेछन । हामीले मञ्चमा विश्वका सबै महादेशबाट ५० हजार सहभागी, प्रतिनिधि एवं अतिथि आउने अपेक्षा गरेका छौ । करिब एक दशक लामो सशस्त्र संघर्ष, जनआन्दोलन, मधेश आन्दोलन र अन्य राजनीतिक एवं सामाजिक आन्दोलनले एक गतिशील लोकतान्त्रिक प्रक्रियाको जन्म दिएको थियो । यो प्रक्रियाले वृहत राजनतिक रुपान्तरण ल्याएको थियो जहाँ नेपालले धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र अंगाल्यो । जननिर्वाचित संविधानसभाबाट ३ असोज २०७२का दिन जारी भएको नेपालको संविधानले समावेशिता, सामाजिक न्याय, जातीय, भाषिक एवं साँस्कृतिक विविधतालाई स्वीकार्दै समाजवादको लक्ष्य लिएको छ । यी प्रगतिशील परिवर्तन एवं लक्ष्यकै कारण नेपालले विश्व सामाजिक मञ्च २०२४को आयोजना गर्ने अवसर पाएको हो ।
विश्व सामाजिक मञ्च २०२४ले निम्न वृहत विषयगत क्षेत्रलाई समेट्नेछ:
१ आर्थिक असमानता र आर्थिक न्याय
२ श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन
३ जात, काम र वंशजमा आधारित भेदभाव, जाति, जातीयता, आदिबासी, छुवाछुत, र सबै प्रकारका भेदभाव
४ लिङ्ग, लैङ्गिकता, लैंगिक हिँसा र पहिचान
५ भूमि, कृषि, खाद्य सम्प्रभुता, उर्जा र प्राकृतिक स्रोत
६ शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा
७ शिक्षा, कला र संस्कृति
८ संचार, सामाजिक सञ्जाल र मिडिया (डिजिटल समानता)
९ लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानून र न्याय
१० स्वास्थ्य, सामाजिक संरक्षण र समानता
११ जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, बासस्थान र दिगो विकास
१२ महिला, बालबालिका, युवा, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरू
१३ सामाजिक आन्दोलन, नागरिकको स्थान र विश्व सामाजिक मञ्चको भविष्य
१४ माथि छुटेका विषय
हामीले खोजेको शान्ति, सुरक्षा, लोकतन्त्र, समता र न्यायिक परिवर्तनका लागि विश्वव्यापी एकता अपरिहार्य छ । दक्षिणपन्थी, लोकतन्त्र विरोधी र चरमपन्थी शक्तिको उदयले हाम्रो समाजमा गम्भीर खतरा पैदा गरेको छ । दुर्भाग्य यी शक्तिले समाजका केही वर्गबाट समर्थन हाँसिल गरिरहेका छन्, चुनाव जितिरहेका छन्, र सरकार गठन गरेर विपक्षीको दमन गर्ने, द्वेष फैलाउने र विभाजन बिउ रोप्ने काम गरिरहेका छन् । यी तत्वले आफ्नो लक्ष्य हासिल गर्न आम मानिसमाझ व्याप्त राष्ट्रवाद, धर्म र विभिन्न असुरक्षाको दोहन गर्ने गरेका छन् ।
नेपालमा विश्व सामाजिक मञ्चको आयोजनाले नेपालको राजनीतिक एवं सामाजिक आन्दोलनका अनुभवलाई विश्वव्यापी मञ्चमा देखाउने अवसर प्रदान गर्छ । यसमा नेपालको लोकतन्त्र, संविधानमा उल्लेखित सामाजिक एवं आर्थिक अधिकारका साथसाथै जीविकोपार्जनको अधिकार, भाषिक तथा सांस्कृतिक अधिकार, धर्मनिरपेक्षता, भेदभावविहीनता एवं विविधता र पहिचानको मान्यता जस्ता मौलिक हक समावेश छन् । राजनीतिक आन्दोलन, अभियन्ता, नागरिक समाज समूह र व्यक्तिको एक व्यापक विश्वव्यापी जमघटले विभिन्न महत्त्वपूर्ण विषयमा अर्थपूर्ण छलफलमा संलग्न हुने मौका पाउनेछ । यी छलफलले असमानता, लोकतन्त्र, नागरिक संलग्नता, जलवायु न्याय र खाद्य सम्प्रभुता जस्ता मुद्दा समेट्नेछन् । हामी सबैले सामना गरिरहेको बहुआयामिक संकटको पृष्ठभूमिमा यी महत्वपूर्ण बहस-छलफलले एक अद्वितीय र विविध वातावरण प्रदान गर्नेछ ।
विश्व सामाजिक मञ्च २०२४
नेपाल आयोजक समिति