News and Declaration
News and Declaration
वैकल्पिक विश्व खोजीको एउटा प्रयास, विश्व सामाजिक मञ्च : डा. नेत्र तिमिल्सिना

वैकल्पिक विश्व खोजीको एउटा प्रयास, विश्व सामाजिक मञ्च : डा. नेत्र तिमिल्सिना [भिडिओसहित]

भिडियो सामाग्रीका लागि यहाँ थिच्नुहोस ।

 

काठमाडौँ- विश्व सामाजिक मञ्च (वर्ल्ड सोसियल फोरम) को १६औँ संस्करण आगामी फागुन ३ देखि ७ गतेसम्म नेपालमा आयोजना हुँदैछ। विश्व सामाजिक मञ्चको कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। उद्घाटन, सम्मेलन, आह्वान र अन्य थुप्रै कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन संसारभरबाट सामाजिक आन्दोलनका प्रतिनिधिहरू नेपाल आउने क्रम सुरु भइरहेको छ। सम्मेलनमा ल्याटिन अमेरिका, अफ्रिका, अमेरिका, युरोप, एसिया, अस्ट्रेलिया, ओसिनिया क्षेत्रका मुलुकका प्रतिनिधिहरू सहभागी हुनेछन्।

विश्वमा केन्द्रीकृत, पुँजीवादी, नवउदारवादी व्यवस्थाले जनतालाई बहिष्करणमा पारेको छ। सीमित व्यक्तिहरूले मात्र संसारको सम्पत्तिमाथि एकाधिकार बनाइरहेको अवस्था छ। जनसंख्याको ठूलो भाग गरिबी, वहिष्करण विभिन्न खालका समस्याको चपेटामा छ। पृथ्वी जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका कारण संकटमा छ। त्यसैले अर्को विश्वको खोजी भइरहेको छ।

अर्को विश्व भनेको सामाजिक न्यायसहित, समतामूलक, पहिचानसहितको मर्यादित र गरिमामय जीवन जिउन पाउने विश्व हो। वैकल्पिक विश्वमा विश्वास राखेर थुप्रै सामाजिक आन्दोलन र अभियान भइरहेका छन्। यस्ता मुद्दामा एकै ठाउँमा भेला भएर छलफल गर्ने अभियानलाई विश्व सामाजिक मञ्च भनिन्छ। यो अभियान सन् २००१ मा ब्राजिलबाट सुरु भएको हो। त्यसमा महिला अधिकार आन्दोलन, किसान अधिकार आन्दोलन, मजदुर, युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक, दलित अथवा जातीय विभेदमा परेका वर्ग समुदायका आवाज उठाइन्छ।

अहिले संसारका विभिन्न ठाउँमा युद्ध भइरहेको छ। सम्मेलनले यसका बारेमा पनि आवाज उठाउनेछ। साथै जलवायु परिवर्तनका कारण मान्छेले कष्टपूर्ण जीवन जिउनुपरेको छ। नेपालका हिमालमा हिउँ पग्लिन थालेका छन्। हाम्रो जीवन संकटमा छ भन्ने विषयमा फोरममा आवाज उठ्नेछ।

सम्मेलनका लागि ५० हजारभन्दा बढी प्रतिनिधिहरू नेपालमा आउनेछन्। साथै अन्तर्राष्ट्रिय ट्रेड युनियनका अध्यक्ष, महासचिव र पदाधिकारी नेपालमा आउनेछन्। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले मजदुरका हकअधिकार, ज्यालामा भएका असमानताका कुरा, मर्यादित काम र मर्यादित जीवन जिउन पाउने अधिकारका बारेमा आवाज उठाउनेछन्।

पछिल्ला दिनमा जलवायु परिवर्तनका कुरा पनि संसारभर सशक्त रूपमा उठिरहेको छ। नेपाल सान्दर्भिक देश भएको हुनाले युवा र जलवायु, महिला र जलवायु, मजदुर र जलवायु जस्ता विभिन्न विषयहरूमा सम्मेलनमा आवाज उठाइनेछ। कार्यक्रममा यी विषय उठाइसकेपछि घोषणापत्र जारी हुनेछ। कार्ययोजनाहरू बन्नेछन्। त्यसपछि विश्व सामाजिक मञ्चको समापन हुनेछ।

फागुन ३ गते साढे १० बजे हामी भृकुटीमण्डपमा जम्मा हुनेछौँ। एकताबद्धताका रूपमा हामी र्‍याली गर्नेछौँ। र्‍यालीपछि १ बजे सभा सुरु हुनेछ। सभामा महिला र मजदुरको प्रतिनिधिले सम्बोधन गर्नेछन्। उद्घाटन कार्यक्रमले बाँकी चार दिनका कार्यक्रमहरूलाई कन्टेक्स बनाउनेछ। वक्ताका लागि विभिन्न देशबाट नाम आउने क्रम जारी छ।

मजदुर आन्दोलनबाट अन्तर्राष्ट्रिय ड्रेड युनियनकै अध्यक्ष, महासचिव आउने पक्का गरिसकेका छन्। वातावरण तथा विभिन्न प्राकृतिक स्रोतका अधिकारका आन्दोलनहरूमा सहभागी हुँदै आएका मेदा पाटकर, पाकिस्तानबाट हिजा जिलानी आउने निश्चित भइसकेको छ। प्यालेस्टिनबारे बोल्न पनि प्रतिनिधि आउनेछन्। यसैगरी किसान आन्दोलन, यौनिक अल्पसंख्यक समुदाय, दलितहरूका तर्फबाट पनि त्यहाँ सम्बोधन हुनेछ। फागुन ८ र ९ गते विश्व सामाजिक मञ्चको अन्तर्राष्ट्रिय परिषद् बैठक आयोजना हुनेछ।

विश्व सामाजिक मञ्चलाई गरिब, दुःखी, पछाडि पारिएको वर्ग, मजदुर, महिला, युवा र वहिष्करणमा परेको समुदायको पक्षमा पार्नका निम्ति आन्दोलनलाई सहयोग गर्न हामी आयोजक समितिका तर्फबाट हार्दिक आह्वान गर्दछौँ।

श्रोत- Himalpress.com