विश्व सामाजिक मञ्च आगामी फागुन तीनदेखि सातासम्म नेपालमा हुँदैछ। सन् २००३ मा ब्राजिलको पोर्टो अलेग्राबाट ‘अर्को विश्व सभ्भव छ’ भन्ने नाराका साथ सुरु भएको हो यो मञ्च। मूल आयोजकका अनुसार नेपालमा हुने विश्व सामाजिक मञ्चमा ५० हजार सहभागी हुँदैछन्। नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ ।
२० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ। अर्को विश्व धनीलाई धनी बनाउने, गरिबलाई अझ गरिब बनाउने, शोषण गर्ने र केही व्यक्ति र संस्थाहरूले विश्व चलाउने कल्पना गरिएको होइन होला। न पुँजीवादी विश्व नै हामीले कल्पना गरेको हो।
विशेषगरी विश्व सम्मेलन वा सामाजिक मञ्चमा मुख्यतः मध्यम वर्गको सहभागिता हुन्छ। यसका तीन कारण छन्– पहिलो, यस्तो सहभागिताका लागि स्रोत चाहिन्छ। स्रोत मध्यम वर्ग वा त्यसभन्दा माथिको वर्गको नियन्त्रणमा छ। दोस्रो, भाषा हो। यस्ता विश्व सम्मेलन वा मञ्चमा प्रायः अंग्रेजी भाषा हुन्छ, अनुवाद भइहाले पनि स्पेनिस र फ्रेन्चमा मात्र हुन्छ। अरू भाषामा हुदैन। यस्तो अंगे्रजी बोल्ने मध्यम वर्ग वा त्यसभन्दा माथिका छन्।
तेस्रो, नेटवर्किङ वा एलायन्स हो। यसमा आफ्नो शक्ति समूह वा वर्ग सम्बन्ध वा स्रोत सम्बन्धभन्दा बाहिरका सहभागी हुन सक्दैनन्।
गरिब वर्गलाई यस्ता कार्यक्रम आयोजना गर्ने फुर्सद छ न सहभागी हुने नै। उनीहरू आफ्नो दैनिकी धान्नमै व्यस्त छन्। यति लेख्दै गर्दा माक्र्स याद आउँछन्, उनले भनेका छन्– मध्यम वर्ग अवसरवादी हो अझ अर्काको स्रोत पाएपछि यो प्रतिक्रियावादी पनि हुन सक्छ।
विश्व मञ्च वा सामाजिक संस्थाहरूको लगानीको स्रोत के हो? पुँजीवादी हो वा गैरपुँजीवादी हो ? यदि यो नवउदारवादी स्रोतबाट चलिराखेको छ भने यसले दिने नतिजा पनि नवउदारवादी नै हुन्छ। परिवर्तनकारी हुन सक्दैन।
विश्व सामाजिक मञ्चको इतिहास हेर्दा यो माक्र्सका विचार राख्ने, परिवर्तनमा विश्वास गर्ने र समावेशी प्रजातन्त्र र आर्थिक प्रणालीहरूमा विश्वास गर्नेहरूको मञ्च हो तर यसलाई नवउदारवादी संस्थाहरूको स्रोत वा प्रोजेक्टहरूले त्यही अर्को विश्वको नाराभित्र खेलेर आफ्नो शक्ति बलियो बनाइराखेको छ।
उदाहरणका लागि हामी हवाइ जहाज चढेर पुँजीवादीलाई सघाउँछौँ। होटलमा बसेर र खाएर पुँजीवादीको व्यापारलाई नाफा दिन्छौँ। पुँजीवादीहरूले उत्पादन गरेका सामग्री प्रयोग गरेर उनीहरूको नाफालाई अझ बढाउन मद्दत गर्छौँ।
त्यति मात्र हैन, डलर एक्सचेन्ज गरेर पुँजीवादी आर्थिक प्रणलीलाई नाफा दिन्छौँ। गरिबलाई के दिन्छौँ ? मजदुरलगायत श्रमशक्तिका आधारमा जीवन बिताउन वा दैनिक ज्याला गर्नेलाई के दिन्छौँ ? शक्तिबिहीनहरूलाई के दिन्छौँ ? शक्ति र र स्रोत वितरणका लागि के गर्छौँ ?
त्यसैले हामी नवउदारवादी स्रोतबाट परिचालित छौँ भने त्यसले दिने परिणाम पनि त्यस्तै हुन्छ। यदि मूल धमिलो छ भने धारामा आउने पानी पनि धमिलो नै हुन्छ। धाराले सफा पानी दिन सक्दैन।
विश्व बैंक समूहलगायत नवउदारवादी समूह र संस्थाको परियोजना सञ्चालन वा त्यसका स्रोतबाट हामी यो मञ्चमा सहभागी हुँदैछौँ, कार्यक्रम गर्दैछौँ। त्यसले अर्को न्यायसहितको समावेशी विश्वको समाजवादको यात्रा तय गर्न सक्दैन। प्रायः मध्यम वर्गको स्रोत सम्बन्ध नवउदारवादी संस्थाहरूसँग नै छ।
अर्को विश्व भनेको कस्तो हो? माक्र्सको विचारमा आधारित हो वा अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमनको विचारमा आधारित वा विश्व बैंक समूहका पे्रसिडेन्ट अजय बंगाको जस्तो वा उत्तर कोरियाका राष्ट्रपति किम जोन उनको जस्तो हो वा अमेरिकी राष्ट्रपति वाइडेनको जस्तो? हामी गान्धीको स्वराजमा फर्किन सक्छौँ कि सक्दैनौँ? जुलियस नेरेरेको आत्मनिर्भर समाजमा फर्किन सक्छौँ कि सक्दैनौँ?
विश्व मञ्चमा समाजवादी अर्थव्यवस्था कस्तो हुन्छ, त्यसका सैद्धान्तिक र व्यावहारिक पक्षको विचार मन्थन र कार्ययोजना बन्छ कि बन्दैन? माक्र्सले स्थापित गरेका वर्गका कुरा हुन्छ कि हुँदैनन्? विश्वका सर्वहारा विपन्न, शक्तिहीन, राजनीतिक पार्टीहरू, सरकार र नागरिक समाजलाई के सन्देश दिन्छौँ? एनजिओ/आइएनजिओहरूको कुम्भमेला मात्र हुन्छ कि वास्तविक परिवर्तनको अभ्याससहितको योजना बनाउँछौँ ?
अर्को कुरा स्रोतसँगै ट्राभल गरेर आएका एजेन्डामा छलफल हुन्छ वा वास्तविक आन्दोलन र रूपान्तरणको एजेन्डा तय हुन्छ ? र, विश्व सामाजिक मञ्च एउटा विश्व आन्दोलनका रूपमा परिणत हुन्छ? यसको उत्तरसहित विश्व सामाजिक मञ्च नेपालले तयारी र सहजीकरण गर्नुपर्छ।
अहिले दुईवटा विचार छन्– पहिलो, बजारले गरिबी निवारण गर्छ जुन नवउदारवादीहरूले भन्दै आएका छन्। दोस्रो प्रोफेसेर जोसेफ स्टिग्लिजलगायतले भने जस्तै बजारले गरिबी निवारण गर्दैन त्यसैले राज्य र समुदाय मिलेर गर्ने हो।
विलियम स्ट्रली र डम्बिसा मायोले चाहिँ बजारले गरिबी निवारण गर्छ, विकास सहायताले गर्दैन भन्ने वकालत गर्दै आएका छन्। त्यसलाई विश्व सामाजिक मञ्चले के जवाफ दिन्छ? विभिन्न सहायताका विषयमा सामाजिक मञ्चको पोजिसन के हो? गणतन्त्र भएको देशभन्दा अर्को देश हामीले कस्तो खोजेको हो? छलफलका लागि त्यसको प्रारूप हामीसँग छ कि छैन वा जसले जे छलफल गर्छ, त्यसै छाडिदिने हो?
सामाजिक मञ्चले क्रान्ति, विद्रोह र शान्ति तथा न्यायको कुरा लोगोमा समेटेको भनेका छन्। अहिले विश्व सामाजिक आन्दोलन वा विश्व वर्गीय आन्दोलन कहाँ छ भनेर खोज्ने बेला आएको छ। नवउदारवादी स्रोतकै कारण वर्गीय आन्दोलनहरू ओझेलमा परेका छन्। वर्गीय मुद्दाहरू ओझेलमा परेका छन् भने नवउदारवादी भाष्य बलियो र सक्रिय छ।
विश्व सामाजिक मञ्चले वर्गीय आन्दोलन, किसानको हितमा भूमि सुधारको मुद्दालाई पुनर्गठन गर्छ कि गर्दैन? विश्व खाद्य सङ्गठन, एफएओ र अन्तर्राष्ट्रिय भूमि सञ्जालका अनुसार चारजनामध्ये तीनजना ग्रामीण भेगमा बस्छन् र कृषि कर्म गर्छन्। जसको भूस्वामित्व अहिले पनि असुरक्षित र असमान छ।
माक्र्सका अनुसार पुँजीवादी विस्तारले ग्रामीण समुदायको सर्वहाराकरण गर्दै जमिनको केन्द्रीकृत गर्दै कृषिलाई विषाक्त बनाएको छ। पुँजीवादमा किसान मृत अर्थात डेड पिजन्ट हुन्छ। अब मृत अवस्थामा पुगेका किसानलाई उत्पादनको साधनको मालिक र उत्पादनको मालिक बनाउने प्रक्रियामा विश्व सामाजिक मञ्च लाग्छ कि लाग्दैन वा भेला गरेर काठमाडौँ घूमघाम गरेर केही समय काठमाडौँका होटल रेस्टुरा चलायमान बनाएर यो सकिन्छ ?
अन्तर्राष्ट्रिय भूमि सञ्जाल र अक्सफामको प्रतिवेदन सन् २०२०, ल्यान्ड इनइक्वालिटी एट द हर्ट अफ अनइवेल सोसाइटीका अनुसार जमिनको असमानताका कारण करिब २.५ बिलियन (करिब साँढे दुई अर्ब साना किसानको जीविका सङ्कटमा छ। इनइक्वालिटी प्रतिवेदनअनुसार बिलिनियरहरूको प्रत्येक दिन २.७ बिलियन डलर सम्पत्ति बढ्छ।
प्रत्येक दिन असमानताका कारण २१ हजार ३०० मानिस मर्छन् र प्रत्येक चार सेकेन्डमा एकजना मानिस मर्छन्। प्रत्येक वर्ष खाना खान नपाएर २१ लाख मान्छे मर्छन्। यो सामाजिक मञ्चले हरेक दिन प्राण त्याग्ने २१ हजार तीन सय मानिसलाई बचाउन के नीति, कार्यक्रम र योजना तय गर्छ?
हिजो चेलीबेटी भारतका सहरलगायत विभिन्न देशमा बेचिन्थे तर आज मास्टर्स/पिएचडी गरेका मानिस बेचिन थालेका छन्। केही समय अगाडि रुकुमको एउटा गाउँको समाचार सार्वजनिक भयो ।
एकजना मानिस अमेरिका जान एक करोड खर्च गर्न तयार छ तर नेपालमा बस्न तयार छैन। मान्छे गाउँमा बस्न तयारै छैन। नेपालको अर्थतन्त्र ऋणात्मकतर्फ गइराखेको छ। अब गाउँमा शिक्षक पाउन गाह्रो भएको छ। घरहरूमा ताला लागेका छन्। हामी विकास लिएर गाउँ गएका छौँ तर गाउँमा मान्छे नै छैन्। मान्छे किन अमेरिका, युरोप र गल्फ जान हुरुक्क छ र नेपालमा बस्न चाहँदैन।
विकास सहायता, गैह्रसरकारी संस्था र सरकारका कार्यक्रमले किन मानिसलाई नेपालमा राख्न सकेको छैन? यस्ता विषय सामाजिक मञ्चका योजनाभित्र पर्छन् कि पर्दैनन् ? चासो यो हो।
मान्छे जब गरिबी झेल्छ, उसलाई दुःखी बनाउँछ । जहाँ मानिस अधिकारबिहीन हुन्छ, स्रोतविहीन हुन्छ तब मानिस दुःखी हुन्छ र यसका विकल्पहरू खोज्छ। मान्छे पैसा कमाउन मात्रै वा धनी हुन मात्रै खोज्दैन। ऊ पहिचान, सम्मान, सहभागिता, स्वामित्व र सामूहिक शान्ति पनि चाहन्छ। यस्ता विश्व मञ्चले ग्रामीण गरिब र विपन्नहरूलाई कस्तो पहिचान, सम्मान, सहभागिता र स्वामित्व दिन्छ वा वा मध्यम वर्गको आफैँले आफैँलाई पहिचान दिने थलो बन्छ। यो महत्त्वपूर्ण पक्ष हो।
‘संसार बुझ्नु मात्र ठूलो कुरा होइन, ठूलो कुरा त बदल्नु हो, माक्र्सले कतै भनेका छन्। त्यसैले विश्व सामाजिक मञ्च बुझ्नतिर मात्र नलागोस्, बदल्नतिर लागोस् र हामी सबै बुझ्नतिर मात्र होइन, बदल्नतिर लागौँ। बदल्ने बहस र अभ्यास आजैबाट सुरु गरौँ।