News and Declaration
News and Declaration
विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौंमा हुँदै

काठमाडौं ।

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ विश्व सामाजिक मञ्च २०२४ को १६औं संस्करण आगामी फागुन ३ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ।

विश्व सामाजिक मञ्च नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्व समाजिक मञ्चको १६ औं सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।आयोजकका अनुसार फागुन ७ नगर परिक्रमा गर्नेछ ।

उद्घाटन समारोहमा विश्व प्रसिद्ध व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ । यस मञ्चको माध्यमबाट नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलन, शान्तिपूर्ण रुपले राजालाई हटाएर गणतन्त्र स्थापना गरेको र राजालाई पूर्व राष्ट्रप्रमुखका रुपमा राखेको, माओवादी द्वन्द्वको अन्त्य गर्न मौलिक विशेषताको शान्ति प्रक्रिया अगाडि बढाइएको, विद्रोही सेनाहरु राष्ट्रिय सेनामा समायोजन भई कमाण्डर बनेको, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तसहितका समाजवादउन्मुख संविधान निर्माणगरेको बारेमा विश्वलाई सुनाउने र विश्वमा भएका विभिन्न आन्दोलन, संघर्ष र परिवर्तनका कथा नेपालीलाई सुनाउने पत्रकार सम्मेलनमा बताइयो ।

पत्रकार सम्मेलनमा नेपालमा हुने यस पटकको सम्मेलनले अहिलेको विश्व व्यवस्थाले अंगीकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावका बारेमा आलोचनात्मक बहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ विश्व व्यवस्थाअनुरुपका नीति संरचनाहरु निर्माण गर्न विश्वव्यापीरुपमा दबाब सृजना हुने बताइयो । साथै सम्मेलनले विश्वव्यापी रुपमा सामाजिक तथा जलवायु न्याय, मानव अधिकार, समानता, वातावरण संरक्षण, दीगो शान्ति कायम गर्दै मानव जगतको हितका लागि योगदान दिने दावी पनि आयोजकहरुले गरेका छन् ।

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक विश्व सामाजिक सम्मेलनको आयोजना गरेको विश्व सामाजिक मञ्चले नवउदारवादी आर्थिक नीतिको आलोचना गर्दै आएको छ । मञ्चले यी नीतिअनुरूप निम्तिने असमानता, सैन्यवाद, वातावरणीय संकट र साम्राज्यवादको विरोध गर्दै वैकल्पिक विचारमा छलफल–बहस र समाधान खोज्न एक ‘खुला मञ्च’ उपलब्ध गराउने बताएको छ ।

आयोजकले विश्व सामाजिक मञ्च २०२४ मा विश्वभरका ५० हजार सहभागी, प्रतिनिधि एवं अतिथि आउने अपेक्षा गरिएको जनाएको छ ।

श्रोत - newsofnepal.com